
टोकियो, जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले संकुचित भएको छ । सरकारले सोमबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा व्यापक गिरावट आएको उल्लेख गरिएको छ ।
जापानी मन्त्रिपरिषद कार्यालयले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा त्रैमासिक अवधिमा ७.८ प्रतिशतले गिरावट आएको जनाएको छ । जापानी संचार माध्यमहरुले जापानी अर्थतन्त्रमा आएको उक्त गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक भएको बताएका छन् । तर जापानी मन्त्रिपरिषद कार्यालयले तुलनात्मक विवरणहरु सन् १९८० देखि मात्र राख्न थालेको हो । पछिल्लो पटक सबैभन्दा खराब संकुचन सन् २००९ मा देखिएको थियो ।
विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको अर्थव्यवस्थामा कोरोनाभाइरसको प्रभाव देखिनुअघि गत वर्षको अन्त्यदेखि नै अनुभव गर्न थालिएको थियो । कोभिड–१९ बाट संक्रमितको संख्यासँगै सामाजिक दूरीका नियमहरुले पनि अर्थतन्त्रमा नकारात्मक असर परेको जापानी अधिकारीहरुले बताएका छन् ।
यस वर्षको पहिलो त्रैमासिक अवधि जनवरीदेखि मार्च महिनाको अवधिमा अर्थतन्त्र ०.६ प्रतिशतले घटेको थियो । गत वर्ष सन् २०१९ को अन्तिम त्रैमासिक अवधि अक्टोबर–डिसेम्बरको अवधिमा १.८ प्रतिशतले अर्थतन्त्रमा गिरावट आएको थियो । यही कारण यस वर्ष सन् २०२० को पहिलो त्रैमासिक अवधिमा जापानी अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको थियो ।
सामान्यतया, दुई त्रैमासिक अवधिसम्म लगातार अर्थतन्त्रमा संकुचन आए अर्थव्यवस्था मन्दीमा गएको बुझिन्छ । एजेन्सी





