
नयाँदिल्ली, भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या ५० हजार नजिक पुगेको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या ४९ हजार ९८० पुगेको छ ।
पछिल्लो केही हप्तादेखि दैनिक एक हजारको हाराहारीमा भारतमा कोरोनाका कारण मानवीय क्षति हुँदै आएको तथ्याङ्कले देखाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ९४४ जनाको मृत्यु भएको जनाएको छ ।
भारतमा कोरोनाबाट सोही अवधिमा एकैदिनमा ६३ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्ला केही दिनदेखि दैनिक ६० हजारभन्दा बढीको सङ्ख्यामा भारतमा सङ्क्रमितहरु थपिदै आएका छन् ।
सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६३ हजार ४८९ जना सङ्क्रमित भएका छन् ।





