
सियोल, संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाका सेनाको वार्षिक संयुक्त सैन्य अभ्यास यसै साता शुरु हुँदैछ । दक्षिण कोरियाका सैन्य प्रमुखले कोरोनाभाइरसको संक्रमण फैलिएसँगै यस्तो सैन्य अभ्यासलाई कम्प्युटर–आधारित युद्ध अभ्यासमा सीमित गरिने बताएका छन ।
यही मंगलबारदेखि आगामी अगस्ट २८ सम्म हुने यस सैन्य अभ्यासले पनि उत्तर कोरियालाई चिढ्याउने अनुमान गरिएको छ । उत्तर कोरियाले विगतदेखि नै दक्षिण कोरिया–अमेरिका सैन्य अभ्यासलाई आफ्नो मुलुकविरुद्धको अतिक्रमणका रुपमा व्याख्या गर्दै आएको छ ।
उत्तर कोरियाले संयुक्त सैन्य अभ्यासलाई जारी राखिए हाल अबरुद्ध वार्तालाई पुनः शुरु नगर्ने चेतावनी दिँदै आएको छ ।
यो सैन्य अभ्यास निकै नाजूक स्थितिमा आयोजना गर्न लागिएको छ किनभने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा तैनाथ झण्डै २८ हजार ५०० अमेरिकी सैनिकको खर्च व्यवस्था गर्न दक्षिण कोरियामाथि दबाब दिइरहनु भएको छ । यी सैनिक खासगरी दक्षिण कोरियाको सुरक्षाका लागि तैनाथ गरिएको हो ।
दुबै मुलुकबीच लागत साझेदारी सम्बन्धमा वार्ताहरु भए पनि सन् २०१९ मै समाप्त भएको उक्त सम्झौतामा पुनः सहमति हुन सकेको छैन । एजेन्सी





