
दक्षिण कोरिया, दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिना पछिकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।
अधिकारीहरुले दिएको जानकारी अनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ ।
उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसँगै दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या १५ हजार ३८१ पुगेको छ ।
कोरियाली रोग नियन्त्रण केन्द्रले आइतबार सार्वजनिक गरेको विवरण अनुसार दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म ३०५ जनाको मृत्यु भएको छ ।
अधिकारीहरुका अनुसार गत मार्च ८ मा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ३६७ जना सङ्क्रमित भएका थिए । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या बढेकाले दक्षिण कोरियामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ भने कतिपय प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ ।






