
वासिङटन, कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका हुन् ।“मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,” उनले भने ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले रुसी खोपका बारेमा सकारात्मक धारणा राखेका हुन् । कोरोनाभाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुने पनि उनको भनाइ छ ।“मलाई जानकारी भएसम्म कोरोनाभाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु,” उनले बताए ।
चाडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गरे । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताए ।आधारभूत प्रक्रियाहरू पूरा गर्ने र परीक्षण सबै सफल भएपछि आधिकारिक निकायले त्यसको प्रयोगका लागि स्वीकृति दिने उनकाे भनाइ छ । नयाँ खोप प्रक्रियामा गएको छ र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरूलाई अन्त्यन्त धेरै खुशी लागेको उनकाे भनाइ छ ।
उनले अमेरिकमा पनि केही वैज्ञानिकहरूले तीन ओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी दिए । अहिलेसम्म औषधिको औपचारिक प्रयोग गर्न नपाएर विश्वभरि महामारीको रुपमा फैलिएको कोरानोभाइरसविरुद्ध विश्वभरि धेरै वैज्ञानिकहरूले खाेप बनाइरहेको दाबी गरेका छन् । तर ती सबै परीक्षणका क्रममा रहेका छन् भने अहिलेसम्म विश्व स्वास्थ्य सङ्गठनले कसैलाई पनि कोरोनाको खाेपको मान्यता दिएको छैन ।





