March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

खोप नियमविरुद्ध अस्ट्रेलियामा प्रदर्शन

अस्ट्रेलियाली सरकारले लगाएको अनिवार्य खोपको नियमको विरोध गर्दै अस्ट्रेलियाको राजधानी क्यानबेरामा हिजो (शनिबार) हजारौंले प्रदर्शन गरेका छन् । कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएपछि असन्तुष्ट सर्वसाधारणले संसद् भवन अगाडि प्रदर्शन गरेका हुन् ।

खोप नलगाएकालाई सार्वजनिक कार्यक्रम स्थल, रेस्टुराँ तथा सांगीतिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएपछि अस्ट्रेलियामा विरोध चर्किएको छ। प्रदर्शनमा करिब १० हजार सहभागी भएका थिए । अधिकारीहरूले क्यानबेरास्थित एक्जिबिसन पार्कबाट आइतबारसम्म हटिसक्न प्रदर्शनकारीलाई आदेश दिएका छन् ।

खोप अनिवार्य गर्ने सरकारी नियमको विरोध गर्दै आएका प्रदर्शनकारी करिब एक सातादेखि उक्त स्थानमा छन् । अस्ट्रेलियामा खोप लगाउन योग्यमध्ये करिब ९० प्रतिशतले दोस्रो र ९५ प्रतिशतले पहिलो मात्रा लगाइसकेका छन् । तर पनि पछिल्ला दिनहरूमा सरकारले लगाएको नियमको विरोध हुँदै आएको छ ।

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले प्रदर्शनकारीलाई शान्तिपूर्वक प्रदर्शन गर्न आग्रह गरेका छन् । उनले खोप अनिवार्य गर्ने नियमका लागि राज्य सरकार उत्तरदायी भएको जनाएका छन् । केन्द्र सरकारले अत्यन्तै संवेदनशील स्वास्थ्य क्षेत्र, वृद्धवृद्धालाई रेखदेख गर्ने एज केयर होममा लगाइएको अनिवार्य खोपको नियमप्रति मरिसनले समर्थन जनाएका छन् ।

उनले यसबाहेकका अन्य खोपसम्बन्धी अनिवार्य नियम केन्द्र सरकारले लगाउन नसक्ने र त्यसका लागि राज्य सरकार जिम्मेवार भएको बताए ।अस्ट्रेलियामा स्वास्थ्य क्षेत्र, एज केयर होम, अपांगता भएका व्यक्तिलाई सहयोग गर्ने क्षेत्रलगायत अन्य संवेदनशील क्षेत्रमा काम गर्ने कर्मचारीले अनिवार्य खोप लगाएको हुनुपर्ने नियम लगाइएको छ । सरकारको यही नियमका कारण केही कर्मचारीले जागिरसमेत छाडेको समाचारमा जनाइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको