अमेरिकाले रुसलाई युक्रेन युद्धमा तान्न खोजेको पुटिनले आरोप

मस्को, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युद्धमा तान्न खोजिरहेको आरोप लगाएका छन् ।
राष्ट्रपति पुटिनले अमेरिकाले रुसलाई युक्रेन युद्धमा तानिरहेको बताएका हुन् । कैयौं हप्तादेखिको जारी युक्रेन प्रकरणबारे पुटिनको यो पहिलो टिप्पणी हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मस्कोमा हंगेरीका प्रधानमन्त्री भिक्टोर ओरबानसँगको भेटपछि पुटिनले अमेरिकाको चासो युक्रेनको सुरक्षाप्रति नरहेको आरोप लगाए । अमेरिकाको उद्देश्य रुसमाथि थप प्रतिबन्ध लगाउने बहानाको रूपमा अनावश्यक टकराव उत्पन्न गराउनु रहेको उनको दाबी छ ।
यसैगरी रुसमाथि थप प्रतिबन्ध लगाउनकै लागि अमेरिकाले युद्ध चाहेको उनको आरोप छ । अमेरिकाले रुसको विकासमा अवरोध गर्न चाहेको र यसका लागि युक्रेन एक माध्यम रहेको उनले जिकिर गरेका छन् ।
अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाको बारेमा रूसको चिन्तालाई बेवास्ता गरिरहेको समेत बताए । युक्रेनको सिमाना नजिक रुसी सेना तैनाथ भएसँगै रुस र अमेरिकासहित पश्चिमा देशबीच तनाव बढ्दै गइरहेको छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्