
वासिङ्टन, अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले आइतबार उक्त आदेश दिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ । पछिल्ला केही समययता रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको विभिन्न समाचारमाध्यमहरुले जनाएका छन् ।
यसैगरी किभको दूतावासमा कार्यरत कर्मचारी, तिनका परिवारका सदस्य र अत्यावश्यक काम नभएका अन्य कर्मचारीहरुलाई पनि अमेरिकी विदेश मन्त्रालयले युक्रेन छाड्न भनेको हो । सो दूताबासमा रहेका मात्र नभएर युक्रेनमा रहेका आफ्ना सबै नागरिकहरुलाई पनि सम्भव भएसम्म युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले अनुरोध गरेको छ
अमेरिकी गुप्तचर रिपोर्टमा रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको पाइएको बताइएको छ । त्यसैले पनि अमेरिकाले आफ्ना नागरिकहरुलाई उक्त आदेश जारी गरेको बताइएको छ ।एजेन्सी







