
अल्माटीबाट, काजकिस्तानमा कम्तीमा ३ हजार प्रदर्शनकारी पक्राउ परेका छन् । रुसको शान्ति सेना परिचालनपछि शुक्रबार कम्तीमा ३ हजारभन्दा बढी सरकार विरोधी प्रदर्शनकारी पक्राउ परेका हुन् ।
काजकिस्तानको आन्तरिक मामला मन्त्रालयका अनुसार पेट्रोलिय पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धिको विरोधका कारण अशान्त बनेको काजकिस्तानमा त्यहाँ राष्ट्रपति कासिम जोमार्ट तोकायिभको आग्रहमा बिहीबारबाट रुसको शान्ति सेना तैनाथ भएको थियो ।
त्यहाँ इन्धनको मूल्यवृद्धिको विरोधमा आइतबार सरकारविरोधी नागरिकले प्रदर्शन सुरु गरेका थिए । करिब एक हप्ता लामो सो प्रदर्शन पछि हिंसामा परिणत भएको थियो ।
काजकिस्तानको ठूलो सहर अल्माटीबाट सुरु भएको सो प्रदर्शन देशभर चलेको थियो । प्रदर्शन हिंसामा परिणत भएपछि गएको मंगलबार काजकिस्तान सरकारले राजीनामा दिएको थियो भने देशमा संकटकाल घोषणा गरिएको थियो ।







