
काठमाडौँ, अमेरिकाको उपराष्ट्रपति पदका लागि डेमोक्र्याट पार्टीका तर्फबाट सिनेटर कमला ह्यारिसलाई उम्मेदबार बनाइने भएको छ ।डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ह्यारिसलाई उम्मेदवार बनाउने घोषणा मंगलबार गरेका हुन् ।सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् ।
“निडर लडाकूका रुपमा रहेकी र देशको सेवाका लागि सधैँ क्रियाशील रहनु भएकी ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइने भएको छ ।” सन् २०१६ मा भएको निर्वाचनमा ५५ वर्षीया ह्यारिस अमेरिकाको माथिल्लो सदन सिनेटमा निर्वाचित भएकी थिइन् । अफ्रिकी अमेरिकी महिला माथिल्लो सदनमा निर्वाचित भएका मध्ये उनी दोस्रो थिइन् ।
त्यस अगाडि उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ताको रुपमा कार्यरत थिइन् । बाइडेनले छनौट गरेसँगै उनी अमेरिकी इतिहासमा उपराष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्ने तेस्रो महिला हुने भएको छ ।
यसअघि डेमोक्र्याटको तर्फबाट गेराल्डीन फेर्रारो सन् १९८४ मा उपराष्ट्रपतिको उम्मेदवार थियो भने त्यसपछि सन् २००८ मा रिपब्लीकनका तर्फबाट सराह पालिन उपराष्ट्रपतिका लागि चुनावी मैदानमा भएको थियो । बाइडेनले ह्यारिस जस्तो प्रभावशाली, क्षमतावान र प्रतिबद्ध नेतृलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन पाउँदा निकै गौरब र खुशी लागेको बताएका छन् ।






