January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

रुसका राष्ट्रपति पुटिनको भारतमा ६ घण्टे भ्रमण के के भयो सम्झौता ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमवार भारतको छोटो भ्रमण गर्नु दुई देशबीचको सम्बन्धमा महत्त्वपूर्ण कदम हो । सोभियतकालदेखि नै भारतसँग सुमधुर सम्बन्ध कायम राख्न इच्छुक देखिएको रुसले बदलिँदो विश्व राजनीतिमा भारतलाई महत्त्व दिइरहेकै छ ।

विशेषगरी कोभिड महामारीपछि संसारका नेताहरूले प्रत्यक्ष आमनेसामने भएर कमै मात्र भेटघाट गर्ने गरेका छन् । पुटिनले महामारीपछि अमेरिकाका राष्ट्रपति जो बाइडनसँग स्विट्जरल्यान्डको जेनेभामा भेट गरेका थिए । त्यसपछि उनी भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्न आइपुगे ।

यसरी आफैं सशरीर उपस्थित भएर पुटिनले कूटनीतिक रूपमा महत्त्वपूर्ण सन्देश दिएका छन् । बहुध्रुवीय विश्वको एउटा ध्रुवका रूपमा रुसले भारतलाई सम्मान दिएको यसबाट देखिन्छ ।

पुटिनको भ्रमणमा रुस र भारतबीच २८ वटा सम्झौता तथा समझदारीमा हस्ताक्षर भएका छन् । महत्त्वपूर्ण रूपमा मोदीको आत्मनिर्भर भारत नीतिलाई हौसला दिने गरी रुसले आफ्नो घातक एके–२०३ राइफलको उत्पादन भारतको कारखानामा गर्ने सहमति जनाएको छ ।

कुल ५ हजार करोड भारुबराबरको यस सम्झौताले भारत रुसको हतियार खरिदकर्ता मात्र नभई सहउत्पादक बन्न चाहेको सन्देश दिएको छ । भारतीय सेनासँग भएको पुरानो र निकै हदसम्म बेकामे इन्सास राइफललाई एके–२०३ राइफलले विस्थापित गर्नेछ ।

साथै रुसले भारतलाई बेचेको एस–४०० क्षेप्यास्त्र प्रतिरोधी प्रणालीका इकाइहरूको आपूर्ति जारी राख्ने विषयमा पनि पुटिन र मोदीबीच सहमति बनेको छ । उक्त हतियार प्रणालीका इकाइहरू भारतमा आउन थालिसकेका छन् र तिनीहरू आइरहने भारतका विदेशसचिव हर्षवर्धन शृंगलाले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।

विशेषगरी चीनसँग सीमामा विवाद चर्किरहेको बेलामा भारतले विभिन्न देशहरूसँग हतियार किनिरहेको छ । अमेरिकासँग अट्याक हेलिकप्टर, आर्टिलरी गन लगायतका विभिन्न हतियार किनेको भारतले सन्तुलन कायम गर्न रुससँग एस–४०० हतियार प्रणाली खरिद गरेको हो । त्यसो त घातक हतियारहरूको उत्पादनमा रुस विश्वकै अग्रणी मुलुक भएकाले उससँग हतियार किन्न धेरै देशहरू लालायित रहन्छन् ।

रुसी हतियार प्रणाली किनेकोमा भारतसँग अमेरिका असन्तुष्ट छ । रुस, चीन, इरान, उत्तर कोरिया जस्ता अमेरिकाका शत्रु मुलुकहरूसँग कारोबार गर्ने मुलुकमा प्रतिबन्ध लगाउने काउन्टरिङ अमेरिकाज एड्भर्सरीज थ्रु स्यांक्सन्स याक्ट (काट्सा) मा अमेरिकाले विचार गरिरहेको भए पनि भारत जस्तो महत्त्वपूर्ण रणनीतिक सहयोगी मुलुकमा उसले प्रतिबन्ध लगाउने छनक देखिँदैन । पुटिनसँगको वार्तामा काट्साको कुरा नआएको शृंगलाले बताएका छन् ।

काट्साको डर नमानी भारतले रुससँग एस–४०० सम्झौता कार्यान्वयन गरेकोमा पुटिन मोदीसँग खुशी भएका छन् । नयाँ शीतयुद्धको आरम्भ भएसँगै अमेरिकी खेमातर्फ भारत गइरहेको जस्तो देखिए पनि भारतले स्वतन्त्र विदेशनीति कायम गर्दै रुससँगको सम्बन्धलाई पनि उच्च महत्त्व दिएको यसबाट देखिएको भारतीय विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

हुन पनि रुसलाई चिन्तित पार्ने गरी भारतले अमेरिकासँग विभिन्न थरीका रक्षा सम्झौता गरेको छ । त्यस्तै किसिमको सम्झौता रेसिप्रोकल लजिस्टिक्स सपोर्ट अग्रीमेन्ट भारतले रुससँग पनि गर्न खोजेको छ तर त्यसका कतिपय विषयमा सहमति नजुटेकाले त्यसमा हस्ताक्षर हुन नसकेको जानकारी भारतका विदेशसचिव शृंगलाले दिए ।

रुसले आफ्नै स्वार्थ हेरेर भारतसँगको सम्बन्ध कायम राखेको छ र भारतले पनि वाशिङटनबाट विभिन्न किसिमका छुटहरू प्राप्त गर्नका लागि रुससँगको सम्बन्धलाई उच्च महत्त्व दिएको छ । पुटिनको भारत भ्रमणले त्यही यथार्थलाई उजागर गरेको देखिन्छ ।
त्यसबाहेक भारत अमेरिकी नेतृत्वमा रहेको क्वाडको महत्त्वपूर्ण सदस्य बनेको पनि रुसले रुचाएको छैन । जतिसुकै नकारे पनि क्वाड चीनलाई घेराबन्दी गर्न बनाइएको समूह हो । चीनविरुद्ध घेराबन्दीसँगै रुसलाई पनि हिन्द–प्रशान्त क्षेत्रमा प्रभाव कायम गर्न नदिने, अझ रुसको सुरक्षा जोखिम बढाउने अमेरिकाको योजना देखिन्छ । यस्तो अवस्थामा भारत अमेरिकाको भूरणनीतिक योजनाको गोटी नबनेको भए हुन्थ्यो भन्ने रुसको चाहना देखिन्छ ।

भारतले क्वाडलाई सैन्य साझेदारी भन्दा पनि खोप उत्पादन तथा वितरण लगायतका गैरसैन्य सहयोगका लागि बनेको समूहका रूपमा लिएको छ । तर रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले हिन्द–प्रशान्त रणनीतिलाई प्रवर्धन गरी पश्चिमले चीनविरोधी गतिविधिमा भारतलाई समावेश गरेको आरोप लगाएका छन् । अर्थात्, भारत क्वाडको सदस्य बनेको रुसलाई चित्त बुझिरहेको छैन ।

हिन्द प्रशान्त क्षेत्रमा प्रभुत्व कायम गर्नका लागि अनेकौं तिकडम गरिरहेको पश्चिमलाई काउन्टर दिन रुसले आर्थिक तथा भूराजनीतिक बाध्यताका कारण चीनलाई साथ दिइरहेको छ । अमेरिकाले एड्भर्सरीको संज्ञा दिएका दुई मुलुक चीन र रुसबीचको साथ र सहयोग सैन्य साझेदारीमा समेत परिणत हुने सम्भावनाका विषयमा पुटिनले संकेत गरेका छन् ।

यस्तो घटनाक्रम विकसित भइरहँदा चीनसँगको सम्बन्धलाई खलल पार्ने कुनै पनि गतिविधि रुसले गर्ने छैन । त्यसैले गर्दा भारतले आशा गरिरहेको भए पनि रुसले चीन र भारतबीचको तनावलाई मत्थर पार्ने विषयमा कुनै पहल गरिरहेको छैन । त्यसो त रुसले चीन र भारतबीच मध्यस्थता गर्न पहिलेदेखि नै अनिच्छा प्रकट गर्दै आइरहेको थियो ।

वास्तविक नियन्त्रण रेखासम्बन्धी विषय पुटिन र मोदीबीचको वार्तामा नउठेको बताइएको छ । तर भारतका रक्षामन्त्री राजनाथ सिंहले रुसी समकक्षी सर्गे शोइगुसँगको भेटमा यसलाई उठाए । मोदी र पुटिनको भेटघाटअघि दुई जोड दुई बैठकमा दुवै देशका परराष्ट्रमन्त्री र रक्षामन्त्रीहरूको बैठक बसेको थियो ।

राजनाथ सिंहले कुरा उठाए पनि मोदी र पुटिनबीच भारत–चीन सीमाविवादको कुरा नउठ्नु अर्थपूर्ण छ । भारतले चीनसँगको सीमाविवाद आफैं समाधान गर्नुपर्ने हुन्छ, यसमा तेस्रो पक्षबाट कुनै पनि किसिमको सहयोग प्राप्त गर्ने सम्भावना छैन भन्ने सन्देश यसले दिन्छ ।

रुसले भारतलाई आफ्नो हतियार बेच्न पाएकै छ र भारतसँग उसले सन् २०२१ देखि २०३१ सम्मका लागि सैन्य प्रविधि सहकार्यको सम्झौता पनि गरेको छ । यसरी द्विपक्षीय मामिलाबाहेक भूराजनीतिक विवादका विषय समाधानमा उसले अतिरिक्त सक्रियता नदेखाउने संकेत दिएको छ ।

भारतका सैन्य मामिला विश्लेषक प्रवीण साहनीले पुटिनको भ्रमणबाट चीनसँगको विवादका विषयमा मोदीलाई धेरै फाइदा नहुने आकलन गरेका छन् । उनले लेखे, ‘पुटिनलाई भारतमा रातो कार्पेट ओछ्याएर स्वागत गर्नुको मुख्य कारण चीनसँगको संकटको बेलामा रक्षा खरिददारी गर्नु हैन । बरू पुटिनले वास्तविक नियन्त्रण रेखामा सी चिनपिङलाई आक्रामकता रोक्नका लागि फकाउँछन् कि भन्ने आशा हो किनकि सीले कुरा सुन्ने एक मात्र विश्वनेता पुटिन हुन् । तर यसले काम गर्ने छैन, शान्तिका लागि मोदीले सीसँग आफैं कुरा गर्नुपर्नेछ ।’

चीनसँगको विवाद समाधान गर्न पुटिनले मोदीलाई कुनै सहयोग नगर्नुका साथै भारतलाई रुसको स्वार्थसँग बाझिने कुनै पनि कदम नचाल्नका लागि पनि पुटिनले बन्दोबस्त मिलाइसकेको भारतका अर्का प्रखर रक्षा मामिला विश्लेषक भरत कार्नाडले द प्रिन्टमा प्रकाशित आलेखमा तर्क गरेका छन् । युक्रेनमाथि आक्रमण गर्न तम्तयार रहेका पुटिनले अमेरिकाको पछि लागेर युक्रेनको पक्षमा भारतले कुनै कदम नचालोस् भनी तयारी गरेको तर्क कार्नाडले गरेका छन् ।

उनी लेख्छन्, ‘मोदीले युक्रेन तथा अन्य विवादास्पद विषयमा कुनै दायाँबायाँ नगरून् भनी पुटिनले पाकिस्तानका विषयमा नयाँ नीति बनाएका छन् । केही समयअघि मस्कोले पाकिस्तानी सेनालाई असल्ट हेलिकप्टर बेच्न सहमति जनाएको छ । गत २६ नोभेम्बरमा मस्को र इस्लामावादले आर्थिक सहकार्यका लागि एक सहमतिको मस्यौदा बनाउन शुरू गरेका छन् ।

त्यससँगै रुसको ग्यास पाकिस्तान पुर्‍याउनका लागि ११ सय किलोमिटर लामो ग्यास पाइपलाइन बिछ्याउने र १२.४ अर्ब क्युबिक मिटर ग्यास पठाउने प्रस्तावलाई सन् २०२२ को फेब्रुअरी महिनामा औपचारिकता दिन लागिएको छ । त्यस्तै टेलिकम, सूचना प्रविधि र अन्य विविध क्षेत्रमा पनि सहकार्य गर्न मस्को र इस्लामाबाद तयार छन् ।’

भारतलाई अमेरिकाको खेमामा धेरै ढल्किन नदिन पाकिस्तानलाई रुसले महत्त्व दिइरहेको यसबाट स्पष्ट हुन्छ । अन्तर्राष्ट्रिय राजनीति निर्मम हुन्छ र प्रत्येक देशले आफ्नो स्वार्थलाई केन्द्रमा राखेर नै कदमहरू चालिरहेका हुन्छन् ।

रुसले आफ्नै स्वार्थ हेरेर भारतसँगको सम्बन्ध कायम राखेको छ र भारतले पनि वाशिङटनबाट विभिन्न किसिमका छुटहरू प्राप्त गर्नका लागि रुससँगको सम्बन्धलाई उच्च महत्त्व दिएको छ । पुटिनको भारत भ्रमणले त्यही यथार्थलाई उजागर गरेको देखिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको