May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

जापानमा विदेशी यात्रुलाई पुनः प्रवेश निषेध

टोकियो, जापानमा विदेशी यात्रुलाई फेरि पनि प्रवेश निषेध गर्ने तयारी भएको छ । प्रधानमन्त्री फुमियो किशिदाले सोमबार सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अफ्रिकी मुलुकहरुमा कोरोनाभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनको महामारी आफ्नो देशभित्र प्रवेश नगरोस भन्ने उद्धेश्यले विदेशबाट आउनेहरुलाई जापान प्रवेशमा निषेध गर्न लागिएको हो ।

उनले भने, “हामीले चाडै नै विदेशबाट आउनेहरुलाई देश प्रवेशमा रोक लगाउने छौँ, त्यो कुनै देश विषेशका लागि मात्रै नभएर विश्वभरीका कुनै पनि देशबाट आउनेहरुलाई रोक लगाउन लागिएको हो ।”

प्रधानमन्त्री किशिदाले नोभेम्बर ३० तारिखदेखि प्रतिवन्धात्मक यो व्यवस्था लागू हुने बताए । जापानमा यसअघि पनि महामारीलाई न्युनिकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेहरुलाई परीक्षणमा कडाइ गरिएको थियो ।

तर गत नोभेम्बरको सुरुदेखि विदेशबाट आउनेहरुलाई प्रवेशमा खुकुलो बनाइएको थियो । खुकुलो व्यवस्थाका आधारमा व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिषा भएकाहरुलाई प्रवेश गर्न दिइएको थियो । टोकियोले गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरुलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको