
काठमाडौं, संयुक्त राष्ट्रसंघले मानवीय सहायतासम्बन्धी काममा अवरोध नगर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले इथियोपियालाई सो आग्रह गरेको हो ।
इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि पठाइएका कम्तीमा पनि ७० ओटा ट्रक इथियोपियाको सरकारी सुरक्षा निकायहरुले नै नियन्त्रणमा लिएका जनाएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती ट्रकहरु र ट्रक चालक तथा अन्य कर्मचारीहरुलाई तत्काल मुक्त गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले माग गरेका छन् । उनले बिहीबार विज्ञप्ति जारी गर्दै मावनीय सहायता उपलब्ध गराउन गएका सबै सवारी साधन र कर्मचारीहरुलाई तत्कालै रिहा गर्न माग गरेका हुन् ।
इथियोपियामा पछिल्लो समयमा निकै समस्यामा परेका टिग्रेका नागरिकहरुका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो ।
तर त्यहाँको सरकारले नै ती सहायता सामग्रीहरु नियन्त्रणमा लिएको र तिनको पछिल्लो अवस्था के कस्तो छ भन्ने बारेमा केही पनि थाहा हुन नसकेको पनि बताइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बिहीबार एक विज्ञप्तिमार्फत् भनेका छन्, “यस्तो सहयोगका लागि गएका सहायताकर्मी तथा सवारी साधनहरु नै सरकारले नियन्त्रणमा लिनु राम्रो नभएकोले तुरुन्त रिहा मुक्त गरी सहायता उपलब्ध गराउने वातावरण मिलाउनु पर्छ ।” एजेन्सी







