
काठमाडौं, संयुक्त राष्ट्रसंघले गत आइतबार एक चेतावनी जारी गर्दै अफगानिस्तानमा लाखौं मानिस भोकमरीमा परेको बताएको छ । अफगानिस्तान विश्वको सबैभन्दा खराब मानवीय संकटतर्फ द्रुत गतिमा अघि बढिरहेको राष्ट्रसंघको जनाएको छ ।
संयुक्त राष्ट्रसंघले विश्वका सबै नेताहरुलाई उक्त संकट समाधानका लागि हरसम्भव प्रयास गर्नुपर्ने बताएको छ ।
विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड बेजलीले बीबीसीसँग कुरा गर्दै अफगानिस्तानको वर्तमान अवस्था र आगामी दिनको खतराको वर्णन गरेका छन् ।
उनले भने, “तपाईले कल्पना गर्न सक्ने चीजहरू खराब छन् । हामी अहिले विश्वको सबैभन्दा खराब मानवीय संकटको साक्षी छौं । हाल अफगानिस्तानमा ९५ प्रतिशत जनतासँग पर्याप्त खाद्यान्न छैन । र २३ प्रतिशत जनता भोकमरीतर्फ उन्मुख छन् । तीमध्ये ९० लाखभन्दा बढी मानिस भोकमरीबाट पीडित छन् । र जाडो मौसम आउँदैछ । हामी अहिले खडेरीबाट बाहिर आउँदैछौं । यस्तो अवस्थामा आगामी ६ महिना निकै खतरनाक सावित हुने देखिन्छ । यो ठाउँले हाम्रो संसारमा नरकको अवस्था सामना गर्न गइरहेको छ।”
यसैगरी उनले विश्वका नेता तथा अरबपतिहरूलाई अफगानिस्तानको मद्दतका लागि अपिलसमेत गरेका छन् ।एजेन्सी







