
क्यानबेरा, अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ । मंगलबार त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइने बताएका हुन् ।
अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिडविरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने जनाएको छ ।
गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी बासिन्दाहरूलाई पहिलो पटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने योजना सार्वजनिक गरेका थिए ।
यसैगरी प्रधानमन्त्री मोरिसनले मङ्गलबार अष्ट्रेलियालीहरू पछि स्वदेश प्रवेशको अबको प्राथमिकता बाह्य पर्यटकहरू भन्दा कुशल आप्रवासीहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरू हुने बताएका छन् ।
अन्य देशहरूबाट अष्ट्रेलिया प्रवेश गर्नेहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम कोभिड महामारी र यसबाट सृजित प्रतिबन्धका कारण भएको हो ।
कोभिड महामारीले अष्ट्रेलियाली विश्वविद्यालयहरूमा अत्यन्तै नकारात्मक असर पारेको छ। किनकि यहाँका प्रायः विश्वविद्यालयहरू विदेशी विद्यार्थीले तिर्ने शुल्कमा निर्भर हुने गर्दछन् । एजेन्सी






