
नयाँदिल्ली, भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ परेकी छन् । उत्तरप्रदेशमा पर्ने लखिमपुरको खिरीस्थित जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार राज्यका कांग्रेस प्रमुख अजय कुमार लल्लूले यसबारे पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘प्रियंका गान्धीजीलाई पक्राउ गरिएको छ । के कसैको दुःखमा समावेश हुनु अपराध हो ? ’
भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध पछिल्लो समय किसानहरू आन्दोलनमा उत्रिएका छन् । उत्तर प्रदेशको लखिमपुर खिरीमा आइतबार केन्द्रीयमन्त्री अजय मिश्रका छोरा आशिषको गाडीले कुल्चिएर किसानको मृत्य भएको दाबी समेत गरिएको छ ।
प्रहरीले आशिषविरुद्ध हत्याको मुद्दा दर्ता गरेको छ । आशिषसमेत १४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । लखिमपुर खिरीमा आइतबारको किसान आन्दोलनबीच भड्किएको हिंसामा ८ जनाको मृत्यु भएको थियो ।
प्रियंका मृतकको परिवारलाई पनि भेट्ने उद्देश्यले अबेर राती दिल्लीबाट लखनउ पुगेकी थिइन् । त्यसको केही बेरपछि उनी लखिमपुरका लागि जाने क्रममा बिहान साढे पाँच बजे प्रहरीले सीतापुर जिल्लाको हरगांज बोर्डरमा हिरासतमा लिएको हो ।
हिरासतमा लिनुअघि प्रियंकामाथि धक्कामुक्का पनि भएको दाबी गरिएको छ । यसैगरी कांग्रेस नेता दीपेन्द्र सिंह हुड्डाले प्रियंका गान्धीलाई हिरासतमा लिइँदै गरेका बेला पुरुष प्रहरीले उनीमाथि हात उठाएको दाबी गरेका हुन् ।एजेन्सी






