
संयुक्त राष्ट्रसङ्घले बेरुतमा भएको भीषण विस्फोट र त्यसपछि भएको सयभन्दा बढी मानिसको ज्यान गएको घटनाको अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घलाई कुनै अनुरोध नआएको जनाएको छ । गत मङ्गलबार भएको सो भीषण विस्फोटबाट कम्तीमा पनि १५० जनाको ज्यान गएको छ । सो घटनामा परी अरु करिब पाँच हजार जना नराम्ररी घाइते भएका छन् ।
यस घटनालाई लेबनानको इतिहासमा नै एक खतरनाक घटनाका रुपमा लिइएको छ । सो विस्फोट राजधानी बेरुतमा रहेको एक गोदाममा राखिएका रासायनिक पदार्थहरूका कारण भएको बताइएको छ । यसको थप अनुसन्धान गर्नुपर्ने बताइएको छ ।
त्यसैले सो अनुसन्धानका लागि आफूहरूलाई अनुरोध नआएको संयुक्त राष्ट्रसङ्घका एकजना सहायक प्रवक्ताले बताएको छ । राष्ट्रसङ्घका सहायक प्रवक्ता फराहन हकले सो कुराको जानकारी दिनुभएको हो । उनले भने ‘हामीलाई बेरुतमा भएको सो दुर्घटनाको बारेमा अनुसन्धान गर्न लेबनान सरकारबाट कुनै आग्रह आएको छैन ।’
तर यस घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसङ्घ भने तयार रहेको बताएको छ । यस दुर्घटनाको अनुसन्धान गर्न र आवश्यकता अनुरुप सहयोग गर्न तत्पर रहेको पनि सहायक प्रवक्ता हकले बताए । एजेेन्सी





