September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

अफगानिस्तानका पूर्ब सञ्चार मन्त्री जो जर्मनीमा पिज्जा पुर्याउँछन्

केही अघिसम्म अफगानिस्तानको सञ्चार मन्त्रीको जिम्मेवारीमा रहनुभएका सैएद सदात गत् डिसेम्बर महिनामा जर्मनीको लेप्जिग पुग्नुभयो । पूर्बी जर्मनीको लेप्जिगमा अफगानिस्तानका पूर्ब सञ्चार मन्त्रीले उज्जवल भविष्यको खोजीमा साइकलमा पिज्जा पुर्याउने काम सुरु गर्नुभएको छ ।
“सरकारमा दुई वर्षसम्म महत्वपूर्ण मन्त्रालय सम्हालेकोले परिवारका केही सदस्यले आफूले सुरु गर्न लागेको कामलाई लिएर सुरुमा आलोचना गरे ।” – रोयटर्ससँगको कुराकानीमा बताउनुहुँदै उहाँले आफूलाई कुनै प्रकारको दोष महसुस नभएको थप्नुभयो । बेलायत र अफगानिस्तानको दोहोरा नागरिकता लिनुभएका ४९ वर्षीय सैएदले राजनीतिज्ञले लुक्नुभन्दा नागरिकको बीचमा रहेर काम गर्नुपर्ने सुझाउनुहुन्छ ।

राष्ट्रपति अशरफ घानीका सल्लाहकार वृत्तसँग असमझदारी उत्पन्न भएपछि उहाँले राजिनामा दिनुभएको थियो । राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएपछि उहाँलाई अनुशरण गर्दै पछ्याउनेको संख्या बढ्दो छ । हजारौं अफगान काबुल छोडेर विदेश पलायन हुन उत्सुक छन् ।
अधिकांश समय बेलायतमा बिताउनुभएका सैएदले सन् २०२० को अन्त्यतिर मात्रै जर्मनीमा सर्नुभयो । बेलायत यूरोपेली संघबाट बाहिरिदा उहाँले आफ्नो अन्तिम अबसरको रुपमा जर्मनी सर्न रोज्नुभयो । जर्मनी रोज्नुको कारणबारे उहाँले टेलिकम र सूचना प्रबिधि क्षेत्रमा दीर्घकालीन रुपमा सेवा गर्ने लक्ष्य राखेको खुलाउनुभयो । बेलायतको अपेक्षा जर्मनीको आर्थिक स्थिति मजबूत हुने उहाँले आँकलन गरेर जर्मनी सर्नुभयो ।

जर्मनीमा सूचना प्रबिधि क्षेत्रमा काम खोजेपनि उहाँले अबसर पाउनुभएन । सूचना प्रबिधिमा उहाँले स्नातकोत्तर गर्नुभएको छ । सैएदले भाषा सबैभन्दा महत्वपूर्ण रहेको बताउनुहुन्छ । उहाँले प्रत्येक दिन बिहान चार घण्टा जर्मन भाषाको कक्षा लिनुभएको छ । बेलुकी छ घण्टा उहाँले साइकलमा पिज्जा पुर्याउने काम गर्नुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको