
काबुल, अफगानिस्तानमा उत्पन्न पछिल्लो घटनाक्रमबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता भएको छ । आज बिहान भएको उक्त छलफलमा दुबै नेताबीच अफगानिस्तानको पछिल्लो अवस्थाबारे चर्चा भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोदी र पुटिनबीच करिब ४५ मिनेट लामो टेलिफोन कुराकानी भएको हो । तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि भारतले आफ्नो कुटनीतिज्ञसहित भारतीय नागरिकलाई फिर्ता गरिसकेको छ ।
तालिबानबारे भारतले अझै आफ्नो दृष्टिकोण सार्बजनिक गरिसकेको छैन् । प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनसँगको वार्तालाप गरेको फोटो समेत ट्वीटरमा सार्वजनिक गरेका थिए ।
यसैगरी उनले ट्वीटरमा लेखेका छन्,“अफगानिस्तानमा बिकसित पछिल्लो घटनाक्रमबारे मेरा मित्र राष्ट्रपति पुटिनसँग बिस्तृत र उपयोगी छलफल भएको छ । हामीले द्विपक्षीय एजेण्डा, कोभिड १९ बिरुद्ध भारत र रुसबीच समन्वय सम्बन्धमा समेत छलफल गर्दै महत्वपूर्ण मुद्दामा आपसमा समन्वय गर्न सहमत भएका छौं ।”






