
बेरुत – लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली २ भएको छ । सो विष्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ ।करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विष्फोटमा परी चार हजार भन्दा बढी घाइते भएका छन् । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो । सो विष्फोट निकै टाढासम्म सुुनिएको यहाँका स्थानीयवासीले जनाएका छन् ।
अहिले पनि सो विष्फोटपछि धुवाँ उडेका तस्बिरहरु यहाँका सञ्चारमाध्यमहरुले दिइरहेका छन् । ती तस्बिरहरु हेर्दा अवस्था निकै क्षतविक्षत देखिएको छ । विष्फोटपछिका अनलाइनमा राखिएका भिडिओहरुमा धुवाँको विशाल मुस्लो देखिएको छ र यहाँ धेरै क्षति भएका भौतिक संरचनाको अवस्था पनि देखिएको छ ।त्यस गोदाममा कुनै बाह्य आक्रमण भएका कारण यो विष्फोट भयो कि आफैं विष्फोट हुन पुगेको हो भन्ने कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा राखिएको एमोनियम नाइट्रेट राखिएकाले त्यो विष्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताएका छन् ।लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विष्फोटलाई देशको ठूलो विपत्ति बताएका छन् ।
उनले यस विषयको अनुसन्धान शुरु भइसकेको र दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन् ।उनले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नहरुलाई कडा कारबाही गरिने र उनीहरुलाई उम्किन नदिइने बताए । गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्था बारेमा जाँचबुझ गरी पाँच महिना अघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको पनि संचार माध्यमहरुले जनाएका छन् । प्रतिबेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो ।
विष्फोटप्रति राष्ट्रपति ट्रम्पसहित विश्वका नेताद्वारा दुःख व्यक्त
लेबनानमा भएको विष्फोटबाट कैयौं नागरिकको ज्यान गएको घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।उनले सो घटनालाई एक डरलाग्दो घटना भएको बताएका छन् । ह्वाइट हाउसमा आयोजना गरिएको प्रेस भेटघाटमा सम्वाददाताहरुसँग उनले सो कुरा बताएका हुन् ।उनले भनेका छन्– यो एकदमै डरलाग्दो घटना भएको छ, यसबाट लेबनानका कैयौँ नागरिकको ज्यान गएको छ, म लेबनान सरकार र त्यहाँका सबै नागरिकप्रति सान्त्वना दिन चाहन्छु ।
उनले लेबनानको सरकार र त्यहाँका नागरिकहरुसँग अमेरिकाको राम्रो सम्बन्ध रही आएको छ म यस्तो अप्ठेरो परेको अवस्थामा लेबनान सरकारलाई आवश्यक सबै खालको सहयोग गर्न अमेरिका सरकार तयार छ भन्ने सन्देश दिन चाहन्छु ।
त्यसैगरी अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसस् र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उक्त विस्फोटप्रति दुःख व्यक्त गरेका छन् । उनहरुले यस्तो अवस्थामा जे जस्तो प्रकारको सहयोग गर्नु परे पनि आफूहरु तयार रहेको जानकारी लेबनान सरकारलाई गराएका छन् । एजेन्सी





