
बेइजिङ, छिमेकी मुलुक चीनले जन्मदर बढाउन दम्पत्तीले तीन सन्तान जन्माउन पाउने अनुमतिसहित ऐनलाई संशोधन गरेको छ । चीनको वरिष्ठ कानून निमार्ताको थलो ‘द नेशनल पिपुल्स कँग्रेस’बाट शुक्रबार उक्त ऐन संशोधन गरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले गत् मई महिनामा नै तीन सन्तान जन्माउन पाउने नीति ल्याउन लागेको घोषणा गरेको थियो भने उक्त निर्णयलाई अब कानूनी रुप दिइएको छ ।
यसैगरी चिनले कानूनमा सामाजिक सुधार शुल्क हटाइएको छ । सामाजिक सुधार शुल्कले तोकिएको भन्दा बढी सन्तान जन्माउँदा दम्पतीमाथि लगाइने जरिवाना हो । कानूनमा अब सुत्केरी विदा, महिलाको पेशाको अधिकार र बालबालिका हेरचाह पूर्बाधारमा सुधार गर्ने उल्लेख गरिएको छ ।
हालसालै जारी गरिएको जनसंख्या प्रतिवेदनले जन्म दरमा उल्लेख्य कमी आएको देखिएको थियो भने सन् २०१६ मा चीनले एक सन्तान नीतिलाई परिमार्जन गरी दुई सन्तानको अवधारणा ल्याएको थियो ।






