
अफगानिस्तानमा २० वर्षसम्म चलेको युद्धमा विजेता कसैलाई भन्न मिल्छ भने ती अब्दुल गानी बारादर हुन् । तीन वर्षअघि अमेरिकाको अनुरोधमा पाकिस्तानको एक जेलबाट रिहा गरिएका यी तालिबानी नेता उक्त संगठनका राजनीतिक प्रमुख हुन् । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा भए पनि संसारले चिनेको अनुहार बारादारको हो । आइतवार साँझ उनी दोहाबाट काबुल गएको बताइन्छ ।
काबुल तालिबानको नियन्त्रणमा आएपछि टेलिभिजनबाट बयान दिँदै बारादरले तालिबानको वास्तविक परीक्षा बल्ल शुरू भएको र आफूहरू देशको सेवा गर्न आएको बताए । अफगानिस्तान आफ्नो हिंस्रक विगतबाट फुत्किन नसकेको तथ्य बारादर शक्तिमा फर्केको कुराले देखाउँछ । उनको वयस्क जीवनले देशको अविरल तथा निर्मम द्वन्द्वको कथा भन्छ ।
सन् १९६८ मा उरुज्गान प्रान्तमा जन्मेका बारादरले सोभियतहरूका विरुद्ध सन् १९८० को दशकमा मुजाहिद्दीनसँग मिलेर युद्ध गरे । सन् १९९२ मा सोभियतहरूलाई देशबाट धपाएपछि देश विभिन्न युद्धसरदारहरूबीचको लडाइँ अर्थात् गृहयुद्धमा प्रवेश गरेको थियो । त्यसबेलामा बारादरले कन्दहारमा आफ्ना पूर्व कमान्डर तथा जेठान मोहम्मद ओमरसँग मिलेर एक मदरसा बनाए । यी दुई मुल्लाहरू मिलेर तालिबान संगठन स्थापना गरे । तालिबान आन्दोलनलाई यसवा इस्लामिक विद्वानहरूले नेतृत्व गरेका थिए । उनीहरू देशको धार्मिक पवित्रीकरण तथा अमिरातको स्थापनाका लागि कटिबद्ध रहे ।
धार्मिक उत्साहले अभिप्रेरित हुँदै, युद्धसरदारहरूका विरुद्ध व्यापक घृणा फैलिएकोमा लाभ उठाउँदै र पाकिस्तानको गुप्तचर निकाय आईएसआईबाट दह्रो समर्थन पाउँदै तालिबान सन् १९९६ मा सत्तामा आयो । त्यतिखेर उसले एकपछि अर्को गरी प्रान्तीय राजधानीमा कब्जा गर्दै जाँदा संसार आश्चर्यमा परेको थियो । अहिले उसले ठ्याक्कै त्यही उपलब्धि दोहोर्याएको छ । बारादर मुल्ला ओमरमुनिको पदमा छन् र उनमा रणनीतिक ज्ञान भरपूर रहेको बताइन्छ । त्यतिखेर तालिबानले पाएको विजयका प्रमुख सूत्रधार उनी नै थिए । तालिबानले पाँच वर्ष शासन चलाउँदा बारादरले सैन्य तथा प्रशासनिक भूमिका निर्वाह गरे ।
अमेरिका र अफगान साझेदारले तालिबानलाई सत्ताच्युत गर्दा उनी रक्षा राज्यमन्त्री थिए । बीस वर्षसम्म तालिबान सत्ताबाट बाहिर रहँदा बारादरले सम्भाव्यता बोकेको सैन्य नेतृत्वकर्ता तथा कुशल राजनीतिक खेलाडीका रूपमा नाम कमाए । पश्चिमका कूटनीतिकर्मीहरूले उनलाई क्वेटा शुरा अर्थात् निर्वासनमा रहँदा तालिबानले बनाएको नेतृत्वमा आबद्ध रहेको पाएका थिए । त्यस समूहलाई आर्ईएसआईले नियन्त्रण गर्न सकेको थिएन र काबुलसँग सबभन्दा बढी राजनीतिक सम्पर्क राख्ने समूह त्यही थियो ।
अमेरिकाको ओबामा प्रशासन बारादरको सैन्य दक्षताबाट त्रस्त थियो । उनी तालिबानमै पनि मध्यमार्गी धारको प्रतिनिधित्व गर्छन् भन्ने विषयमा अमेरिका कम आशावादी थियो । सीआईएले उनलाई पाकिस्तानको कराचीमा सन् २०१० मा फेला पारेको थियो । त्यसै वर्षको फेब्रुअरी महिनामा सीआईएले आईएसआईलाई बारादर पक्राउका लागि विश्वस्त तुल्याएको थियो ।
सन् २०१८ मा वाशिङटनको धारणा परिवर्तन भयो र डोनल्ड ट्रम्पका अफगान दूत जाल्मे खलिलजादले बारादरलाई थुनामुक्त गर्न पाकिस्तानीहरूलाई निर्देशन दिए । बारादरले कतारमा अफगान सरकारसँगको सम्झौताको नेतृत्व गर्नेछन् र शक्ति बाँडफाँटको व्यवस्थामा सहमति जनाउनेछन् भन्ने विश्वास अमेरिकाले लिएको थियो । बारादरले फेब्रुअरी २०२० मा अमेरिकासँग दोहा सम्झौतामा हस्ताक्षर गरे । त्यसलाई ट्रम्प प्रशासनले शान्तितर्फको प्रमुख कदम भनी प्रशंसा गरेको थियो तर अहिले आएर हेर्दा त्यो तालिबानको पूर्ण विजयको आरम्भिक कदम ठहरियो ।
अमेरिका र तालिबानले एकअर्काविरुद्ध युद्ध नगर्ने सम्झौता गरेपछि तालिबान र काबुल सरकारबीच शक्ति बाँडफाँटको वार्ता हुनुपर्ने थियो । त्यस्तो वार्ता त भयो तर त्यसमा खासै प्रगति भएन । बारादर र तालिबानले आफूअनुकूलको समय बनाइरहेको अहिले आएर स्पष्ट भएको छ । उनीहरू अमेरिकीहरू कहिले जालान् भनी कुरिरहेका थिए र अन्तिम तथा निर्णायक युद्धको तयारी गरिरहेका थिए ।एजेन्सी






