
काबुल, अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको तालिबान समूहले बताएको छ ।
करिब दुई दशकदेखि अमेरिकी सेनाको आगमनसँगै आफ्ना गतिविधि ग्रामीण इलाकामा चलाउँदै आएको तालिबान समूहका एक नेताले तालिबानको चाहना अफगानिस्तानको सत्तामा एकल नेतृत्व नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताए ।
शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हनुपर्ने र राष्ट्रपति अशरफ घानीले पद छोड्नुपर्ने तालिबानको माग छ । अमेरिकी सञ्चारमाध्यम एसोसिएटेड प्रेस (एपी) सँगको अन्तर्वार्तामा तालिबानमा प्रवक्ता सुहेल शाहीनले अफगानिस्तानको भविष्यलाई लिएर तालिबानको अडान स्पष्ट पारेका छन् ।
तालिवानले विभिन्न देशसँग गरिरहेको वार्ताको प्रतिनिधिमण्डलका सदस्य रहेका शाहीनले भने, “वार्ताको माध्यमबाट सबै पक्षलाई स्वीकार्य हुने सरकारको वातावरण बनेको र अशरफ घानीको सरकार हटेमा मात्रै तालिबानले हतियार बिसाउनेछ । तालिबानको स्पष्ट धारणा के हो भने हामी सत्तामा एकाधिकार चाहँदनौं किनकी विगतमा जति पनि सरकारले सम्पूर्ण शक्ति आफ्नो हातमा लिने प्रयास गरे उनीहरु सबै असफल बने ।” एजेन्सी






