October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

अमेरिका र इजरायलका विदेशमन्त्री एन्टोनी, लापिडबीच भेटवार्ता हुने

पेरिस, असार १३, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र इजरायलका नवनियुक्त विदेश मन्त्री याईर लापिडबीच आइतबार भेटवार्ता हुने भएको छ । इजरायलमा नयाँ सरकार गठन भएपछि इजरायल र अमेरिकाका वरिष्ट कूटनीतिज्ञबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको हो ।

इजरायलका पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको १२ वर्षे शासन समाप्त गर्न मुख्य भूमिका निर्वाह गर्नु भएका याईर लापिडले आफूलाई प्रधानमन्त्रीको दौडबाट ढिलाइ गरेर पनि नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुभएको थियो । इजरायलमा नाफ्ताली बेनेटको नयाँ सरकार निर्माणमा भएको सम्झौता बमोजिम लापिड दुई वर्षपछि इजरायलको प्रधानमन्त्री बन्नुहुनेछ । विदेशमन्त्री लापिड अमेरिकी विदेशमन्त्रीलाई भेट्न आइतबार रोम प्रस्थान गर्दै हुनुहुन्छ ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केन पनि युरोपका तीन देशको भ्रमणका लागि आइतबार नै इटाली आइपुग्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इरानसँगको सन् २०१५ को आणविक सम्झौतालाई पुनः अगाडि बढाउने बताइरहेकै अवस्थामा दुई नेताबीच भेटवार्ता हुन लागेको हो । यस सम्झौतालाई इजरायलले कडा प्रतिबाद गरिरहेको छ ।

सन् २०१५ को आणविक सम्झौता बमोजिम इरानले भने आफूमाथि लागेका प्रतिबन्धहरु फुकुवा हुने आशामा आफ्नो आणविक कार्यक्रममा व्यापक कटौती गरेको छ । साथै, राष्ट्रपति बाइडेन र विदेश मन्त्री ब्लिन्केनले इजरायल सरकार र प्यालेस्टाइनी इस्लामिक समूह हमासबीच गत मे २१ मा सम्पन्न युद्धविरामलाई दिगो बनाउन प्रयास गर्नुहुनेछ । इजरायली विदेशमन्त्री लापिड एक जना मध्यमार्गी स्वभावका हुनुहुन्छ ।

लापिडले पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको लहैलहैमा लागेर दुई देशबीचको घनिष्ट सम्बन्धलाई कमजोर बनाएको बताउँदै आउनुभएको छ । तैपनि, इजरायलको नयाँ सरकारले अझै पनि इरानलाई प्रमुख चुनौतीका रुपमा लिने गरेको छ ।

केही दिनअघि प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा हवाई आक्रमण गरे पनि अमेरिकासँगको सम्बन्धलाई पुनः पुरानै लयमा फर्काउन नयाँ सरकार इच्छुक छ । अमेरिकी विदेश मन्त्री ब्लिन्केनसँग लाडिपको टेलिफोन संवादपछि इजरायली विदेश मन्त्रालयले दुई नेताले आपसी सम्बन्ध सुदृढ गर्नेबारेमा सहमति भएको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको