
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लिकन पार्टीको चुनावी सभा स्थगित स्थगगरेका छन् । अमेरिकाको फ्लोरिडामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै ट्रम्पले बिहीबार भेला स्थगित गरेको हो ।ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अर्को महिना ज्याक्सनभिल्लेमा गर्न लागिएको भेला पनि रद्द गरेको जानकारी दिए । राष्ट्रपति ट्रम्पले यस्तो सङ्कटको समयमा ठूला, भिडभाडयुक्त भेला गर्नु उपयुक्त नभएको स्पष्ट पारेका छन् ।
अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४० लाखभन्दा बढी पुगिसकेको विवरण सार्वजनिक गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।अमेरिकामा कोरानाभाइरसकै कारण एक लाख ४४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । दोस्रो स्थानमा ब्राजिलमा सबैभन्दा बढीको मृत्यु भएको छ भने भारतमा कोराना सङ्क्रमितको सङ्ख्या नाटकीय रुपमा बढ्दैगएको छ ।
संयुक्तराज्य अमेरिकामा दक्षिणी र पश्चिमी राज्यहरू टेक्सस, क्यालिफोर्निया, अलाबामा, इडाहो र फ्लोरिडामा सबैभन्दा बढी प्रभाव देखिएको छ ।राष्ट्रपति ट्रम्पले उत्तरी क्यारोलिनामा चाँडै अर्को भेला आयोजना गर्ने जानकारी दिए । यो बैठकले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति ट्रम्पलाई पुनः उम्मेदवार बनाउन औपचारिक मनोनयन गर्नेछ ।ज्याक्सनभिल्ले सम्मेलन आगामी अगष्ट २४–२७ मा हुँदैछ तर यो शहरमै अहिले कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ व्यापक रुपमा बढिरहेको छ । गाेरखापत्र







