June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

इजरायलको राष्ट्रपतिमा वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित

जेरुसेलम, इजरायलको राष्ट्रपतिमा वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन् । एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित साठी वर्षीय हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरेका थिए ।

इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति छन् भने  उनको कार्यकाल अर्को महिना समाप्त हुँदैछ ।इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ ।

हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई पराजित गरेका हुन् । चुनावी नतिजा सार्वजनिक भएलगत्तै नवनिर्वाचित राष्ट्रपति हर्जोगले आफू सबै जनताको राष्ट्रपति हुने विश्वास व्यक्त गरे ।

हर्जोगले भने, “हामीले इजरायलको अन्तर्राष्ट्रिय छविलाई सुदृढ गर्नु पर्नेछ र इजरायल विरोधी भावनालाई हटाउन प्रयत्न गर्नु पर्नेछ । साथै हाम्रो लोकतन्त्रको स्तम्भलाई संरक्षण गर्नु पर्दछ ।”

हर्जोग यसअघि लाबोर पार्टीको पूर्व प्रमुख रहनुका साथै सन् २०१५ मा संसदमा विपक्षी दलको नेता हुनुहुन्थ्यो । उनी  सन् २०१५ का चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरुद्धमा चुनावी मैदानमा उत्रिएका थिए हर्जोग इजरायलको प्रभावशाली जियोनिस्ट परिवारका सदस्य हुन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको