
नयाँदिल्ली, भारतमा कोरोना संक्रमणबाट एकैदिन दुई हजार ८८७ जनाको मृत्यु भएको छ । दैनिक थपिने कोरोना सङ्क्रमितको संख्यामा उल्लेख्य कमी आएपनि मृत्युको घटनामा भने एक हजारका दरले घटेको हो ।
भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ३७ हजार ९८९ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा एक लाख ३४ हजार १५४ जना सङ्क्रमित थपिएका छन् ।
२१ लाख ५९ हजार ८७३ नमूना परीक्षण गर्दा एक लाख ३४ हजारमा सङ्क्रमणको पुष्टि भएको हो ।थपिएका सङ्क्रमितसँगै भारतमा कुल सङ्क्रमितको संख्या दुई करोड ८४ लाख ४१ ह्जार ९८६ पुगेको छ ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार ४१३ रहेको छ । त्यहाँ सङ्क्रमण दर बुधबारको तुलनामा दुई प्रतिशतले कमी आएको छ । बिहीबार प्रति एक सय नमूना परीक्षणमा हाल ६.२१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
पछिल्लो चौबीस घण्टामा दुई लाख ११ हजार ४९९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ६३ लाख ९० हजार ५८४ सङ्क्रमित निको भएका छन् । एजेन्सी






