
नयाँदिल्ली, भारतमा पछिल्लो २४ घण्टामा झन्डै साढे दुई लाखमा कोरोना संक्रमण देखिएको छ । त्यहाँ एकैदिन थप दुई लाख ४० हजार ८४२ जना सङ्क्रमित थपिएका हुन । लगातार सातौं दिन भारतमा चौबीस घण्टामा थपिने सङ्क्रमितको संख्यामा कमी आएको हो ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट तीन हजार ७४१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट भारतमा दुई लाख ९९ हजार २६६ जनाले ज्यान गुमाएका छन् ।
सोही अवधिमा तीन लाख ५५ हजार १०२ जना कोरोनामुक्त भएका छन् । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ६५ लाख ३० हजार १३२ पुगेको छ ।
यस्तै भारतमा हाल २८ लाख पाँच हजार ३९९ जनामा भाइरसको सङक्रमण सक्रिय छ । जसमध्ये सबैभन्दा बढी कर्नाटकामा चार लाख ८३ हजार २०४ जना र महाराष्ट्रमा तीन लाख ५२ हजार २४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।एजेन्सी






