
काठमाडौं, अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको २४ घन्टा यताका भएका हिंसात्मक आक्रमणहरुमा परेर २० जना नागरिकको ज्यान गएको छ । उक्त आक्रमणमा परेर महिला र बालबालिका पनि मारिएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमक अनुसार अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा गराइएको एक शक्तिशाली विस्फोटनमा परेर एकै परिवारका चार जनाको बुधबार ज्यान गएको थियो ।
उक्त प्रान्तका प्रान्तीय गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार एक जना व्यक्ति, उनकी श्रीमती र दुई जना बच्चाको ज्यान गएको छ ।
मोटर साइकलमा यात्रा गरिरहेका उनीहरको घर नजिकैको एक सडकमा विछ्याइएको विद्युतीय धरापमा परेर उनीहरुको ज्यान गएको थियो ।
त्यसैगरी बुधबार राति पनि सोही प्रान्तको कारुम भन्ने स्थानमा पनि सडक छेउमा राखिएको बम विस्फोटमा परेर अरु तीन जना सर्वसाधारण मारिएका छन् ।
उनीहरु आफ्नो घरतर्फ गइरहेका बेला सडक किनारमा राखिएको बम अकस्मात विस्फोट भएको थियो । उता नान्गाहार प्रान्तमा पनि तालिबानहरुले गरेको आक्रमणमा परेर एक कारमा सवार रहेका पाँच जनाको ज्यान गएको छ ।एजेन्सी






