
ढाका, बंगलादेशमा डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै उक्त दुर्घटना भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यात्रुले खचाखच भरिएको स्पिडबोट (तिब्र गतिमा दौडिने डुङ्गा)ले बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर सो दुर्घटना भएको थियो ।
स्थानीय समय अनुसार बिहान ७ बजे भएको उक्त दुर्घटनामा अन्य व्यक्ति बेपत्ता भएको हुन सक्ने प्रहरी अधिकृत आशिकुर रहमानले जानकारी दिएका छन् । हालसम्म २६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको उनले बताए । अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तिब्र बनाइएको छ ।
यस्तै बंगलादेशमा हरेक वर्ष सयौं व्यक्तिको डुङ्गा दुर्घटनामा ज्यान जाने गरेको छ । एक महिना अघि गत अप्रिल ४ मा कार्गो जहाज र मानिस ओसार्ने डुङ्गा एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।एजेन्सी






