December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

भारतमा एकैदिन संक्रमितको संख्या ३ लाख नाघ्यो, महाराष्ट्रमा पूर्ण लकडाउन घोषणा

नयाँदिल्ली, भारतमा दिनहुँ कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । कोरोना महामारी सुरु भएयता भारतमा पहिलो पटक एकै दिन  ३ लाख बढीमा कोरोना संक्रमण देखा परेको हो ।

पछिल्लो २४ घण्टामा थप ३ लाख १५ हजार ८०२ जनामा संक्रमण भएको छ भने संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख २४ हजार ८०६ पुगेको छ ।

भारतमा १ करोड ३४ लाख ४९ हजार ४०६ जना संक्रमणमुक्त भएका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या २२ लाख ९० हजार ७२८ छ । गत २४ घण्टामा त्यहाँ थप २ हजार १०२ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार ६७२ पुगेको छ ।

यस्तै कोरोना सङ्क्रमण तिव्र बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ । महाराष्ट्रमा गएको २४ घण्टामा ६७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने पाँच सय ६८ जनाको ज्यान गएको छ ।

आगामी मे १ सम्मका लागि लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । महाराष्ट्र राज्यमा विवाह उत्सवमा २५ जनालाई मात्र सहभागी हुन पाउने भएका छन् भने सार्वजनिक बसमा ५० प्रतिशत मात्रै यात्रुलाई चढाउन पाइने छ ।

लकडाउनमा सरकारी कार्यालयमा १५ प्रतिशत मात्रै कर्मचारी रहने छन् भने लोकल रेलमा कामका लागि मात्रै यात्रा गर्न भनिएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको