May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

किमलाई भेट्न बाइडेन अनइच्छुक, उत्तर कोरियाप्रति अमेरिकी निति नै परिवर्तन हुने

वासिङ्टन, उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्न अमेरिकी राष्ट्रपति जो बाइडेन इच्छुक नरहेको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ताले प्योङयाङप्रति राष्ट्रपति बाइडेनको नीति पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा फरक हुने जानकारी दिएकी हुन् ।

यसअनुसार उत्तर कोरियाप्रति अमेरिकी निति नै परिवर्तन हुने संकेत देखिएको विज्ञहरुको भनाइ छ । बाइडेनले किमलाई भेट्न नचाहेकोबारे ह्वाइट हाउसले स्पष्ट जानकारी भने दिएको छैन । बाइडेनले उत्तर कोरियाका लागि अमेरिकी नीतिको समीक्षा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।

उत्तर कोरियाली पारमाणविक तथा बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लिएर दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध रहेको छ । किम र उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जो बाइडेन अमेरिकी राष्ट्रपति बनेको कुरालाई अझै आत्मसात् गरेको छैन ।

बाइडेन प्रशासनले गत फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरिए पनि प्योङ्याङबाट कुनै जबाफ नपाएको जानकारी दिएको थियो । सन् २०१८ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच पहिलो पटक सिङ्गापुरमा भेटवार्ता भएको थियो ।

यस्तै, सन् २०१९ मा दुई नेताबीच कोरियाली असैनिकीकृत क्षेत्रमा भेटघाट भएको थियो । त्यसपछि दुई देशबीच संवाद हुन सकेको छैन ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको