
काठमाडौं, चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोनाभाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ ।
अनुसन्धानका नतिजाहरु यसअघि अपेक्षा गरिए अनुरुप नै आएको तथा त्यसमा धेरै प्रश्नहरु अनुत्तरित रहेका छन् । उक्त टोलीले प्रयोगशालाबाट भाइरस बाहिरिएको बाहेक अन्य सबै पक्षमा अनुसन्धान गर्न सुझाव दिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्न पटकपटक ढिलाई गरिएको छ । चिनियाँ अधिकारीहरुले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा डब्लुएचओका एक अधिकारीले गत सप्ताहान्तमा केही दिनभित्रै प्रतिवेदन तयार भइसक्ने जानकारी गराएका थिए ।
एपीले जेनेभास्थित डब्लुएचओको कार्यालयका एक कुटनीतिज्ञबाट सोमबार अन्तिम मस्यौदा प्रतिवेदन प्राप्त गरेको थियो । तर उक्त प्रतिवेदन अन्तिम चरणमा परिवर्तन हुने वा नहुने बारेमा भने केही स्पष्ट छैन । अनुसन्धाताहरुले चार वर्गमा परिस्थितिलाई चित्रण गरेका छन् ।
जसमा चमेरोबाट अर्को जनावर हुँदै मानिसमा कोरोनाभाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ । चिसोमा राखिएको माशुजन्य वस्तुबाट कोभिड संक्रमण हुने खतरा रहे पनि त्यसमा त्यति बढी सम्भावना देखिएको छैन ।
कोभिड मानिसमा फैलिने सबैभन्दा निकटतम सम्भावना चमेरा नै रहेको अध्ययनमा भनिएको छ । प्रतिवेदनमा चमेरामा हुने भाइरस र सार्स–कोभ–२ भाइरस बीचको उत्पत्तिको समयावधि भने धेरै दशक हुनसक्ने देखिएको छ ।एजेन्सी






