
इस्लामवाद, पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोहहरु गर्न नपाइने भएको छ । पाकिस्तानी सरकारले यस्ता कार्यमा आइतबारबाट नै प्रतिबन्ध लगाएको हो ।
पाकिस्तानमा पनि पछिल्लो समयमा कोरोना संक्रमितहरु दिनहुुँ बढिरहेको छ । जसका कारण यसको सम्भावित तेस्रो लहरबाट बच्नका लागि प्रतिबन्ध लगाइएको सरकारले जनाएको छ ।
पाकिस्तानमा कोभिड १९ को संक्रमण नियन्त्रणका क्षेत्रमा कार्यरत यहाँको सरकारको संयन्त्र नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले आइतबार विज्ञप्ति प्रकाशन गरेर यस विषयमा जानकारी गराएको थियो ।
उक्त सेन्टरले पाकिस्तानमा राजनीतिक सभा सम्मेलनहरुका साथै सांस्कृतिक र खेलकूदका लागि गरिने जमघटहरुमा पनि कडा रुपमा प्रतिबन्ध लगाइएको जनाएको छ । यो प्रतिबन्धको अवज्ञा गर्नेहरुलाई कडा कारबाही गरिने पनि सो सेन्टरले प्रकाशन गरेको विज्ञिप्तमा जानकारी गराएको छ ।
यो प्रतिबन्ध देशव्यापी रुपमा लगाइएको जनाइएको छ । नयाँ निर्देशनपछि यहाँका प्रान्तीय सरकारहरुले पनि यसको पालना गर्नुपर्ने भएको छ । एजेन्सी






