August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

मोदीको बंगलादेश भ्रमणको विरोधमा प्रदर्शन हुँदा ४ जनाको मृत्यु

ढाका, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनका क्रममा बंगलादेशमा ४ जनाको मृत्यु भएको छ । शुक्रबार भएको उक्त विरोध प्रदर्शनमा ४ जनाको मृत्यु भएको हो ।

भारतीय प्रधानमन्त्री मोदी बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा शुक्रबार ढाका पुगेका छन् ।

बीबीसीका अनुसार प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेका थिए । प्रहरीसँग भएको हिंस्रक झडपका क्रममा ४ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा विरोध प्रदर्शन भएको जनाइएको छ । झडपमा परेर थुप्रै पत्रकारहरूसमेत घाइते भएका छन् ।

बंगलादेशी सञ्चारमाध्यामहरुका अनुसार स्थानीय हात्जारी मदरसामा भएको प्रार्थनापछि विरोध जुलुस निस्किएको थियो । सो जुलुस हिंसात्मक बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

चटगाउँ मेडिकल कलेजका एक अधिकारीले नाम प्रकाशित नगर्ने सर्तमा अस्पतालमा ल्याइएका कम्तीमा चार घाइतेको मृत्यु भएको बताए । यस्तै हिफाजात इस्लाम संगठनका नेता मुफीबुर रहमान हामिदीका अनुसार सो संगठनमा आवद्ध प्रदर्शनकारीहरूको पनि मृत्यु भएको छ ।

केही दिनदेखि ढाकामा धेरै मुस्लिम नेताहरु र वामपन्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा प्रदर्शन गर्दै आएका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको