August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

अस्ट्राजेनिका खोप सुरक्षित रहेको विश्व स्वास्थ्य संगठनको दाबी

जेनेभा, अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोरोनाविरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको दाबी गरेका छन् ।

कोभिड–१९ ले सङ्कट निम्त्याइरहेको युरोपेली क्षेत्रका कतिपय मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका छन् । पछिल्लोपटक युरोपका सबैभन्दा ठूला देशहरु जर्मनी, इटाली र फ्रान्सले पनि अस्ट्राजेनिका खोप लगाउन तत्काललाई रोक लगाएका छन् ।

युरोपकै अन्य कतिपय मुलुकले पनि अस्ट्राजेनिका खोप लगाउन बन्द गरिसकेका छन् । विश्वमा हाल २६ लाखभन्दा बढी मानिसको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । 

यहीबीच विश्व स्वास्थ्य संगठन, अस्ट्राजेनिका कम्पनी र युरोपेली औषधि नियामक निकाय (इएमए)ले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएका छन् । उनीहरुको भनाइमा खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा पूर्ण सत्यता छैन । 

विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले आमजनतालाई नआत्तिन र अस्ट्राजेनिका खोप लगाउने कार्यलाई निरन्तरता दिन आग्रह गरेकी छन् । उनले भनिन्, “अध्ययनबाट खोप र रगत जम्ने समस्याबीच कुनै सम्बन्ध देखिएको छैन ।”

विश्व स्वास्थ्य संगठन र इएमएका विज्ञहरुले अस्ट्राजेनिकाको खोप अभियानसँग सम्बन्धित विवरणको अलग अलग अध्ययन गर्ने बताएका छन् । इएमएले अस्ट्राजेनिकाको विवरणलाई लिएर के गर्ने भनेर दुई दिनपछि विशेष बैठक गर्न लागेको जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको