
बर्लिन, जर्मनीमा लागु गरिएको लकडाउनको समयावधि फेरि लम्बिएको छ । चान्सलर एङजेला मर्केल र १६ राज्यका गभर्नरहरूबीच भएको छलफलको नौ घण्टापछि लकडाउनको समयावधि थप्ने निर्णय गरिएको हो ।
कोरोना महामारी अझै नियन्त्रणमा नआएकाले लकडाउनको अवधि थपिएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार सरकारले यही मार्च २८ तारिखसम्मका लागि लकडाउनको समयावधि थप गरेको हो ।
सरकारले लकडाउनको समयावधि फेरि बढाए पनि केही व्यवस्थामा भने लचकता अपनाएको अधिकारीहरूले जानकारी दिएका छन् ।
अत्यावश्यक सेवा सञ्चालन गर्न कुनै बाधा नरहेको र अत्यावश्यक नरहेका कामहरू नगर्न आग्रह गरिएको समाचारमा जनाइएको छ । कोरोनाको महामारी कम देखिएका क्षेत्रमा अत्यावश्यक नमानिने व्यवसायहरू पनि खोल्न दिइने भएको छ ।एजेन्सी






