March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अमेरिकी संसदको तल्लो सदनको बैठक रद्द, संसद भवनबाहिर गुप्तचरको धम्कीपुर्ण सूचना

वासिङ्टन, अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) को आज बोलाइएको बैठक रद्द गरिएको छ । गुप्तचर विभागबाट प्राप्त सूचनाका आधारमा उक्त बैठक रद्द गरिएको हो ।

अमेरिकी अखबार वासिङटन पोस्टका अनुसार कुनै आक्रामक स्थानीय समूह बिहीबार ‘क्यापिटल’ (अमेरिकी संसद) मा प्रवेशका लागि प्रयास गर्ने चेतावनीयुक्त सूचना प्रहरीले प्राप्त गरेको थियो ।

सोही चेतावनीपछि क्यापिटल भवन बाहिर प्रहरीको अतिरिक्त टोली परिचालन गरिएको छ । प्रहरीले कुनै पनि सम्भावित खतराका लागि आफू तयार रहेको जनाएको छ ।

‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ को निर्धारित बैठक रद्द भए पनि सोही भवनमा रहेको सिनेटले भने नियमित कारवाही अघि बढाउने भएको छ । सो सिनेटमा राष्ट्रपति जो बाइडेनद्वारा पेश गरिएको १.९ ट्रिलियन डलरको ‘कोभिड राहत बिल’ माथि बहस गर्ने बिहीबारको कार्यसूची छ ।

क्यापिटल प्रहरीका अनुसार राज्य प्रहरी, स्थानीय प्रहरी र केन्द्रीय एजेन्सीहरूसँग मिलेर त्यस्तो कुनै पनि सम्भावित घटना रोक्नका लागि प्रयास भइरहेको छ ।

‘हामीले गुप्तचरमार्फत जुन जानकारी पाएका छौं, त्यसलाई निकै गम्भीरतापूर्वक लिएका छौं । हामीले पाएका जानकारीलाई गम्भीरतापूर्वक लिँदै तिनलाई प्रेस सामु उजागर गर्न सक्दैनौं,’ क्यापिटल पुलिसका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि जनवरी ६ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकको एउटा समूह प्रहरी सुरक्षा घेरालाई तोड्दै क्यापिटल भवनमा प्रवेश गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको