
इरानी सञ्चारकर्मी रौहोल्लाह जामलाई मृत्युदण्डको सजाय सुनाइएको छ । शङ्कास्पद परिस्थितिमा रौहोल्लाहलाई नियन्त्रणमा लिएको केही महिनापछि मृत्युदण्डको सजाय सुनाइएको हो । सीएनएनका अनुसार अदालती आदेशमा उनलाई “संसारमा भ्रष्टाचार” आरोपको दोषी ठहर गरिएको छ । उक्त आरोप कुनै अपराध विशेषको रुपमा पहिचान गरिएको छैन । यद्यपि इरानी सरकारले सत्ताविरोधी गतिविधि गर्नेमाथि उक्त मुद्दा चलाउँदैआएको छ ।
इरानी अदालतका प्रवक्ता गुलाम होस्सैन इस्माइलीले उहाँलाई मृत्युदण्ड दिइएको सजायको पुष्टि गरेकाे छ । जामले ‘अमाद न्युज’ अनलाइन पोर्टलका सञ्चालक हुन् । उक्त सञ्चारमाध्यममाथि सन् २०१७–०१८ को प्रदर्शनमा हिंसा फैलाएको आरोप लगाइएको छ । फ्रान्समा बस्दैआएका जामलाई गत वर्ष गिरफ्तार गरिएको थियो ।
उनि कसरी र कहाँ पक्राउ परेको परिस्थिति भने अझै प्रष्ट भइसकेको छैन । फ्रान्सको विदेश मन्त्रालयका अनुसार जाम अक्टोबर ११ मा फ्रान्स छोडेका थिए । तीन दिनपछि इरानको ‘रिभोल्युशनरी गार्ड’ले उनलाई नियन्त्रणमा लिएको जनाएको थियो । विदेशी जासुसी सेवालाई छलेको आरोपमा पक्राउ गरिएको जनाइएको थियो । रिपोर्टर विथआउट बोर्डरले भने जामलाई गैरकानुनी रुपमा अपहरण गरेको जनाएको थियो । इरानले सञ्चारकर्मी जाममाथि अमेरिका, फ्रान्स र इजरायलको जासुसी संस्थाको लागि काम गरेको आरोप लगाएको थियो । गाेरखापत्रबाट






