April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

म्यानमारमा प्रदर्शनकारीमाथि व्यापक दमन, सेनाको गोली लागेर तीन जनाको मृत्यु

  • 14
    Shares

याङ्गुन, सेनाले सत्ता हात लिएपछि म्यानमारमा दिनहुुँ प्रदर्शन भैरहेको छ । म्यानमारमा सेनाले चलाएको गोली लागेर आज तीन जना सरकारविरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनयता प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको हो ।

सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुनसमेत देशका सबैजसो शहरमा दिनहुँ ठुल्ठूला प्रदर्शन भइरहेका छन् ।

यसै महिनाको शुरुमा सत्ता हत्याएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, अश्रुग्यास र पानीका फोहोरा हान्ने गरेका छन् । जनताको शान्तिपूर्ण आन्दोलनलाई निर्मततापूर्वक दमन गर्न सेनाले व्यापक सैन्य परिचालन र धरपकड गरेपनि सेना विरुद्धको प्रदर्शन भने रोकिएको छैन ।

आइतबार बिहान समेत ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए । सडकमा जतिसक्दो बढी मानिस उत्रिन अनलाइन मार्फत आम जनतालाई आह्वान गरिएको थियो ।

त्यहाँका स्थानीय सञ्चारमाध्यमका अनुसार दक्षिणी डावेई शहरमा आयोजित जुलुसमा सहभागीमाथि सेना र प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका छन् ।

उद्धारकर्ताका अनुसार सेना तथा प्रहरीले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको र घाइतेहरुलाई रबरको गोली लागेको बताएका छन् । गोली लागेका व्यक्तिहरु अस्पतालमा ल्याउनेक्रम रहेकाले घाइते वा मृतकको संख्या अरु बढ्न सक्ने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको