
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह (जी७) को सदस्यता दिन गरेकाे प्रस्ताव जापानले अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले यस वर्षको जी७ को वार्षिक बैठकमा रसिया, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतलाई पनि निमन्त्रण गरेका छन् । उनले जी७ को वर्तमान संरचना पुरानो भइसकेको र यसले विश्वका जल्दाबल्दा समस्यालाई समाधान गर्नेतर्फ असफल हुन लागेको तर्क गर्दै जी७ को सदस्यता विस्तार गर्न चाहेका छन् ।
राष्ट्रपति ट्रम्पको उक्त भनाई सार्वजनिक भएलगत्तै जापानको उच्च कुटनीतिक तहबाट जापानको धारणा दर्ता गरिएको जापानी समाचार संस्था क्योदोले जनाएको छ । जापानसँगै दक्षिण कोरिया र भारतलाई जी ७ को सदस्यता दिँदा एसियाली मुलुकहरुबाट एकमात्र सदस्य रहेको जापानको शाख गुम्ने जापानी धारणा छ ।
जी ७ मा हाल जापान सहित क्यानाडा, फ्रान्स, जर्मनी, इटाली र संयुक्तराज्य अमेरिका तथा युरोपेली युनियन सदस्य छन् । जी ७ को वार्षिक सम्मेलन यसअघि जुनमा गर्नेगरी निर्णय भए पनि कोरोनाभाइरसका कारण उक्त सम्मेलन आगामी सेप्टेम्बरमा गर्ने तय भएको छ । रासस एएनआई





