
काठमाडौं, अमेरिकी राष्ट्रपति जो बाइडनले आङ सान सूचीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन् ।
बाइडनले म्यानमारको सेनालाई तत्काल सत्ता छोड्न चेतावनी दिएका हुन् । त्यसो नभए अमेरिकाले उचित कदम चाल्ने उनको प्रतिक्रिया छ ।
म्यानमारमा सेनाले ‘कू’ गरेको विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालिन बैठक आज बस्दैछ । परिषदले म्यानमारलाई प्रतिबन्ध लगाउने लगायतका विषयमा आवश्यक निर्णय लिने बताइएको छ ।
सेनाले सोमबार सत्ता हातमा लिएपछि अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका छन् । सेनाले सत्ता हातमा लिनुका साथै चर्चित प्रजातन्त्रवादी नेत्री आङ सान सू चीसहित २४ जनालाई पक्राउ गरेको छ ।
अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सूचीको गिरफ्तारिलाई भयभीत पार्ने भनि व्याख्या गरेका छन् ।एजेन्सी






