
यानगोन, म्यानमारमा ‘सैन्य कू’ पछि संकटकाल घोषणा गरिएको छ । म्यानमार सेनाले राष्ट्रिय टेलिभिजनमार्फत अबको एक वर्षसम्म संकटलकालको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
निर्वाचनमा धाँधली भएको भन्दै आइरहेको सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएको हो । उक्त निर्वाचनमा आङ सान सूचीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले विजय हासिल गरेको थियो।
निर्वाचनपछि संसद बैठक बस्ने तयारी भइरहँदा सेनाले नेताहरुलाई पक्राउ गरेको हो । सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सलर आङ सान सूची लगायत मुख्यमन्त्री र नेताहरुलाई ‘डिटेन’ गरेको छ ।
हाल म्यानमानरभर इन्टरनेट सेवा अवरुद्ध गरिएको छ भने पक्राउ परेका नेताहरुको अवस्था सार्वजनिक गरिएको छैन ।
राष्ट्रपति लगायत जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको सेनाले देशको कार्यकारी अधिकारी सेनाका कमान्डर इन चिफ सिनियर जेनरल मिन आङ हलिङमा हस्तान्तरण गरिएको छ ।
संकटकाल अवधिभर कार्यकारी शक्ति सेना प्रमुखमा रहेपनि राष्ट्रपतिको अधिकार अस्थायी रुपमा उपराष्ट्रपति यु मिन्ट सूले प्रयोग गर्ने म्यानमार टाइम्सले जनाएको छ ।
अमेरिका र अष्ट्रेलियाले म्यानमारमा भएको पछिल्लो घटनाको विरोध गरेको छ । निर्वाचनबाट आएको जनप्रतिनिधिलाई नियन्त्रणमा लिएर प्रजातन्त्रिक प्रक्रिया नसच्चिए आफूहरुले त्यसविरुद्ध कदम चाल्ने अमेरिकाले चेतावनी दिइसकेको छ । एजेन्सी






