
वुहान, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को उत्पत्तिबारे अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन डब्लुएचओको टोलीले आज संक्रमण फैलिएको वुहान बजारको भ्रमण गरेको छ ।
आइतबार डब्लुएचओको अनुसन्धान टोली हुआनानको बजार अनुगमन गर्न पुगेको हुन् । समूहका सदस्यहरुले हुआनानको सामुद्रिक जीव बजारको भ्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।


सो बजारलाई गत वर्षको जनवरीदेखि नै सिलबन्दी गरिएको छ भने सुरक्षाकर्मीले डब्लुएचओका सदस्यलाई मात्र बजारभित्र प्रवेश दिएका छन् । डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीहरुले निकै गम्भीरतापूर्वक नियालीरहेका छन् ।



चीनले गरेको ढिलाई एवं राजनीतिक आरोहअवरोहका बीच डब्लुएचओको टोलीले जनावरबाट मानिसमा भाइरस कसरी सरेको थियो भन्ने अनुसन्धान गर्न खोजेको छ । तर भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लुएचओले अड्कल गरेको छ । एजेन्सी






