
नयाँदिल्ली, भारतको राजधानी नयाँदिल्लीस्थित इजरायली दूतावासनजिक बम विस्फोट भएको छ । विस्फोटबाट नजिकका कारमा क्षति पुगेको, तर कोही पनि घाइते नभएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
कम क्षमताको कुनै विस्फोटक उपकरण प्रयोग गरी विस्फोट गराइएको भारतीय प्रहरीले जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको इजरायलले जनाएको छ ।
यसलाई आतंककारी हमलाको रूपमा लिएको एक इजरायली अधिकारीले समाचार एजेन्सीहरूलाई बताएका छन् ।
‘दूतावासका कर्मचारी तथा भवनमा विस्फोटबाट कुनै प्रभाव परेको छैन, घटनाका बारेमा भारतीय अधिकारीहरूले छानबिन गरिरहेका छन्,’ इजरायली विदेश मन्त्रालयले जनाएको छ ।
शुक्रबार भारतको स्थानीय समयअनुसार साँझ ५ बजेलगत्तै विस्फोट भएको थियो । त्यसलगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेको थियो । ‘यो सनसनी मच्चाउने उद्देश्यका साथ गरिएको एक दुष्प्रयास रहेको देखिन्छ,’ दिल्ली प्रहरीले विज्ञप्ति जारी गर्दै जनाएको छ । एजेन्सी






