
अमेरिकामा काेराेना भाइरस संक्रमितको संख्या सार्वजनिक गरिएको भन्दा दस गुणा बढि रहेकाे अनुमान गरिएको छ । अमेरिकामा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख ४ हजार नाघिसकेको छ । अमेरिका स्थित सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार अमेरिकामा पुष्टि भएका संक्रमितको संख्याभन्दा दशौं गुना बढी वास्तविक संक्रमित रहेका छन् ।
सेन्टर फर डिजिज कन्ट्रोलका निर्देशक डा.रोवर्ट रेडफिल्डले संवाददाताहरुसँग कुराकानी गर्दै हाल अमेरिकामा पुष्टि भएका प्रत्येक संक्रमित बराबर थप १० जना अन्य संक्रमित रहेको अनुमान रहेको बताए अमेरिकामा रोगको लक्षण देखिएकाहरुमा मात्रै परीक्षण सीमित गरिएकाले लक्षण नभएका लाखौं कोरोनाका बाहकहरु रहेको बताइएको छ । हाल प्रयोगमा ल्याइएको परीक्षण विधि मार्फत् अमेरिकामा रहेका वास्तविक संक्रमित मध्ये केवल १० प्रतिशत मात्रैको पहिचान भएको बताइएको छ ।
अमेरिकाको ५ देखि ८ प्रतिशत जनसंख्या भाइरसको सम्पर्कमा आएकाले सामाजिक दूरी कामय गर्ने, मास्स लगाउने र हात धुने जस्ता रोगबाट बच्ने उपायलाई अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको छ । टेक्सास राज्यमा लकडाउन अन्त्य गर्दै सबै खुल्ला गरेसँगै संक्रमित र अस्पतालमा भर्ना हुनेहरुको संख्या बढेपछि पुनः लकडाउन गरिएको छ । अमेरिकामा हालसम्म १ लाख २६ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । पछिल्ला दिनहरुमा केही दक्षिणी र पश्चिमी राज्यहरुमा संक्रमितको संख्या व्यापक रुपमा बढेको छ ।
वासिङ्टन विश्वविद्यालयले आगामी अक्टोबरसम्ममा अमेरिका १ लाख ८० हजार जनाको कोरोना संक्रमणका कारण मृत्यु हुने प्रक्षेपण गरेको छ । तर यदि ९५ प्रतिशत अमेरिकीहरुले मास्क लगाउने हो भने यो संख्या १ लाख ४६ हजारमा सीमित गर्न सकिने विश्वविद्यालयको भनाई छ । विश्वमा हालसम्म कोरोना संक्रमणका कारण ४ लाख ९१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ९७ लाख ११ हजारभन्दा बढीमा संक्रमित छन्।





