
वासिङ्टन, अमेरिकी ४६औँ राष्ट्रपतिका रूपमा जो बाइडेनले बुधबार क्यापिटल हिलमा शपथग्रहण गरेका छन् । ७८ वर्षीय जो बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा वृद्ध राष्ट्रपतिका रूपमा अबको चार वर्ष ह्वाइटहाउसमा रहनेछन् ।
बाइडेन पहिलोपटक १९७२ मा डेलावेरका सिनेटर बनेका थिए । उनीसँगै भारतीय मूलकी कमला ह्यारिसले पनि उपराष्ट्रपतिको रूपमा शपथ लिइन् । कमला अमेरिकी इतिहासमै पहिलो महिलाका रूपमा उपराष्ट्रपति बनेकी छिन् भने उनी ४९औँ उपराष्ट्रपति बनिन् ।
क्यापिटल हिलमा नेपाली समयअनुसार बुधबार राति १०ः४५ बजे सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले राष्ट्रपति र उपराष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
बाइडेनले शपथ लिँदा एक सय २८ वर्ष पुरानो बाइबल छोएका थिए । सन् १९८३ देखि सो बाइबल बाइडेन परिवारसँगै छ ।
सन् २००९ र २०१३ मा लगातार दुईपटक उपराष्ट्रतिमा चुनिँदा उनले त्यही बाइबलमाथि हात राख्दै शपथ लिएको सिबिएस न्युजले जनाएको छ ।
बाइडेनले शपथ लिएपछि कोभिड– १९ बाट ज्यान गुमाएकाप्रति मौनधारण गरेका थिए । राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलाले शपथ समारोहमा सहभागी हुनुअघि चर्चमा प्रार्थना गरेका थिए ।
बाइडेनले आफूले शक्तिका बलमा होइन, उदाहरणीय रूपमा सत्ता चलाउने बताएका छन् । उनले शपथपछिको भाषणमा घुमारो रूपमा डोनाल्ड ट्रम्पका समर्थकलाई चिच्याउन बन्द गर्न आग्रह गरे । ‘तपाईंहरू चिच्याउन बन्द गर्नुस् र तापक्रम पनि कम गर्नुस्,’ उनले भने ।
बाइडेनले अमेरिकाको विकासका लागि सबैको साथ र एकता चाहिने बताए । ‘एकताविना शान्ति र विकास सम्भव छैन,’ उनले भने, ‘अमेरिकाको महानताका लागि एकता आवश्यक छ,’ उनले थपे, ‘अवसर, सुरक्षा, गरिमा र सत्यको सम्मान हुनुपर्छ । सत्ता र मुनाफाका लागि झुट बोलिन्छ । नेता त्यसैले संविधानको शपथ लिन्छन्, ता कि सत्यलाई साथ दिन र झुटलाई परास्त गर्न ।’एजेन्सी






