
वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गरेका छन् ।
सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि छन् । ह्वाइट हाउसद्वारा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरु ७० जनाको सजाय कटौती गर्नुभएको छ ।”
उक्त सजायमा राष्ट्रपति र उनका बालबच्चाको नाम भने त्यसमा समावेश छैन । ब्याननमाथि मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउन भन्दै आम सर्वसाधारणसँग पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो ।
मेक्सिको सीमामा पर्खाल लगाउने अभियान राष्ट्रपति ट्रम्पको पनि मुख्य चुनावी अभियान र नीति हो ।
राष्ट्रपति ट्रम्पले ब्याननको सजाय माफ गर्नुअघि ब्याननलाई फोन गरेकि अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी इलिअट ब्रोइडी र गायक लिल वाइनेको पनि सजाय माफ भएको छ । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले आज नै अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै छन् ।एजेन्सी






