
काठमाडौं, विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले धनी देशलाई आफ्ना निम्ति कोरोना खोप जम्मा गर्ने क्रममा लाइन नमिच्न आग्रह गरेको छ ।
डब्लुएचओका प्रमुख टेडरोज आध्यनोम गेब्रेयसियसले ‘मलाई पहिला’ भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने चेतावनी दिएका हुन् ।
यसले खोपको भाउ र भण्डारण दुबै बढ्ने उनले चेतावनी दिएका छन् । डब्लुएचओ प्रमुखले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताएका छन् ।
आफूलाई मात्र खोपको जोहो गर्ने शैलीले महामारीलाई लम्ब्याइदिने उनको चिन्ता छ ।
संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको डब्लुएचओले जनाएको छ ।
महानिर्देशक टेडरोजले असमान खोप वितरणका कारण संसार चरम नैतिक संकटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल ‘कोभ्याक्स’ अभियानप्रति सबै देर्श प्रतिबद्धता हुनुपर्ने बताए ।
कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने डब्लुएचओले जनाएको छ । हालसम्म १ सय ८० देशहरू कोभ्याक्समा सामेल भएका छन् । एजेन्सी






