January 15, 2021, Friday
२०७७ माघ ३, शनिबार

फ्रान्स र जर्मनीमाथि लगाएको अमेरिकी नयाँ करवृद्धि मङ्गलबारबाट लागु हुने

  • 14
    Shares

काठमाडौं, संयुक्तराज्य अमेरिकाले फ्रान्स र जर्मनीमाथि विमान सेवाका पार्टपूर्जा र अन्य उत्पादनमाथि लगाएको नयाँ करवृद्धि मङ्गलबारदेखि लागू हुने जनाएको छ ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले एक सूचना प्रकाशन गरी फ्रान्स र जर्मनीबाट उत्पादित ठूला नागरिक विमानहरुका पार्टपूर्जामा १५ प्रतिशत थप कर उठाइने जनाएको छ ।

यी दुई मुलुकका अन्य कतिपय उत्पादनमा २५ प्रतिशत भन्सार कर लिइने पनि विभागले बताएको छ ।युरोपेली मुलुकहरुले आफ्ना विमान उत्पादक कम्पनीहरुलाई अनुदान उपलब्ध गराएको र त्यसबाट अमेरिकी कम्पनी पनि प्रभावित भएको तथा बजारमा अस्वस्थ प्रतिस्पर्धा उत्पन्न भएको जनाउँदै अमेरिकी प्रशासनले युरोपेली उत्पादनमा करवृद्धि गर्ने घोषणा गरेको थियो ।

गत साता, अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले विमानका पार्टपूर्जामा थप १५ प्रतिशत करवृद्धि गर्ने घोषणा गरेको थियो । साथै फ्रान्स र जर्मनीबाट उत्पादित वाइनमाथि २५ प्रतिशत थप कर लिइने बताइएको थियो ।

अमेरिकी ट्रम्प प्रशासनले अक्टोबर २०१९ देखि नै करिब साढे सात अर्ब डलर बराबरका युरोपेली वस्तुमा थप कर लगाउने तयारी गरेको थियो । विश्व व्यापार संगठनले युरोपेली विमान उत्पादक एयरबस र अमेरिकी बोइङ कम्पनीलाई सरकारहरुले प्रदान गरिरहेको अनुदानमाथि प्रश्न उठाउँदै आएको थियो ।

अमेरिकी घोषणासँगै युरोपेली युनियनले पनि नोभेम्बर २०२० मा ४ अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा पनि करवृद्धि गर्ने घोषणा गरेका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको